चितवन खबर पोष्ट

जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र माडीद्वारा मोटरसाइकल -याली प्रदर्शन (भिडियो)

माडी, चितवन । जनयुद्ध दिवसको अवसर पारी नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले ठाउँठाउँमा कोणसभा गर्दै मोटरसाइकल -याली निकालेको छ ।

माडी – ९, बगहीँ बसपार्कबाट सुरु भएको मोटरसाइकल -याली देबेन्द्रपुर, बसन्तपुर हुँदै बरुवा बजार पुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका माडी नगर अध्यक्ष भरत प्रसाद तिमिल्सिनाले बताउनुभयो । त्यस क्रममा बसन्तपुर बजारस्थित शहीद स्तम्भमा माल्यार्पण सहित झण्डोत्तोलन समेत भएको थियो ।

त्यसक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ठाकुरप्रसाद ढकालले ‘अदालतले सार्वजनिक बिदा रोक्ने फैसला वा दलहरुले जेसुकै निर्णय गरेपनि नेपाली जनताले जनयुद्ध दिवस मनाउन नछाड्ने’ बताउनुभएको छ ।

माओवादी केन्द्रको माडी नगर समितिले आयोजना गरेको मोटरसाइकल -यालीलाई बसन्तपुरमा सम्बोधन गर्दै प्रदेश सांसद समेत रहनुभएका ढकालले सो कुरा बताउनुभएको हो । ‘जनयुद्धकै बलमा राजतन्त्र अन्त्य भएको’ बताउँदै उहाँले ‘संघीयता, समानुपाति समावेशिता लगायतका माओवादीका एजेण्डा संधै रहिरहने’ जिकिर गर्नुभयो ।

‘बिचमा माओवादी पार्टी केहि लर्बराएको र केहि बाटो बिराएको’ स्वीकार्दैै उहाँले ‘गरिखाने वर्गको अधिकारका लागि संधै लागिपर्ने’ बताउनुभयो । ‘संविधान संशोधन गर्नैपर्ने भए कार्यकारी राष्ट्राध्यक्ष, महिलाको ५० प्रतिशत सहभागिता, दलितको कोटामा बढोत्तरी लगायतका बिषयमा संशोधन गर्न सकिने’ उहाँको भनाई थियो ।

‘हालको सरकारले रा.स्व.पा. सभापति रवि लामिछानेलाई मुद्धा चलाएपनि आफ्‌ना पार्टीका सहकारी ठग र मानव तस्करहरुमाथि कुनै कारवाही नगरेको’ उहाँको भनाई थियो । एमाले नेता रामबहादुर थापालाई ‘कायर’को संज्ञा दिँदै उहाँले जनयुद्धका घाइतेहरुको स्वास्थ्यलाभ, अपांगप्रति सम्मान र शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार