माडी (स्थानीय) खबर पोष्ट

माडी–६को वडास्तरीय सार्वजनिक सुनुवाई सञ्चालित, नागरिकहरुले विभिन्न प्रश्न एवं गुनासोहरु उजागर

माडी, चितवन । वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै माडी–६ वडाबासी नागरिक एवं सरोकारवालाहरुले विभिन्न प्रश्न एवं गुनासोहरु उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा बुधबार वडा कार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा प्रश्न गर्दै वडाबासी बाबुराम सुनारले पूर्व वडाध्यक्षले खोलेको बाटोमा वर्तमान वडाध्यक्षको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । त्यस्तै, जिताराम महतोले चितवन उद्योग संघ माडी ईकाइद्वारा सञ्चालित कोशेली घरलाई कर्मचारी तलब एवं अन्य सहयोग गर्न अनुरोध गर्नुभयो । बसन्तपुर गाउँमा कालोपत्रे हुँदै गरेपनि पोल सार्न बाँकी रहेको र थारु ब्रह्मस्थानको जमीन संरक्षण गर्नुपर्ने उहाँको सुझाव थियो ।

त्यस्तै, वडाबासी गणेश पौडेलले केन्द्रमा एमाले र काँग्रेसको सहकार्य भएपनि वडामा हुन नसकेको उल्लेख गर्दै पाण्डवचोक बोरिङका लागि ४८ लाख रुपैंयाको योजना परेको भएपनि सम्झौता गर्न जाने पैसा नभएको गुनासो गर्नुभयो । अर्का प्रश्नकर्ता हृदयेश गुप्ताले कल्याणपुर बजारबाट सोमेश्वरतर्फ जाने बाटोमा कालोपत्रे गर्न बाँकी रहेको औंल्याउनुभयो ।

कार्यक्रमका अर्का वक्ता एवं ज्येष्ठ नागरिक शुरेस थापाले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयलाई ध्यान दिन अनुरोध गर्नुभयो । त्यस्तै, विद्यार्थी काजल शाहले छात्रवृत्ति रकम समयमै उपलब्ध हुन नसक्दा समस्या परेको दुखेसो गर्नुभयो ।

जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.ले विद्यालयलाई स्कुल बस चलाउन गाह्रो (महंगो) परिरहेको औंल्याउँदै शिक्षामा लगानी बढाउन सुझाव दिनुभयो । रेडक्रसकर्मी रामकृष्ण अधिकारीले बजेटमा रेडक्रसलाई पनि समेट्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा सहभागी रहँदै स्याउलीबास गाउँ निवासी बासुदेव पाठकले टोलमा पोलबत्तीको माग गर्नुभयो भने शिशु कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक यमनाथ पौडेलले विद्यालयको नजिकै जंगल रहेकाले आगलागीको जोखिम रहेको भन्दै सचेत गराउनुभयो ।

वडाध्यक्ष दीपेन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न सो सुनुवाईमा वडा सदस्य पूर्णकला सुनारले स्वागत तथा स्वदेशकर्मी देव नारायण शाहले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडाका राजनैतिक दल, सामाजिक संघसंस्था, शैक्षिक एवं सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार