

माडी, चितवन । माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता एवं नेपाल विध्युत प्राधिकरणका पूर्व निर्देशक तथा प्रवक्ता, माडी-५, राधापुर निवासी दण्डपाणी बस्यालको निधन भएको छ ।

पछिल्लो समय बुढानिलकण्ठ नगरपालिका-४, पासीकोट, काठमाडौंमा बस्दै आउनुभएका बस्यालकै पहलमा पचासको दशकमा माडीमा बिजुलीको पोल र तार बिस्तार भएको थियो । त्यसबेला, माडीभित्रै बिजुली उत्पादनको प्रयासमा यहाँस्थित बैकुण्ठ र मगोइ नदीमा लघु जलविध्युत केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गरिएको थियो ।

तर त्यो सम्भव र व्यवहारिक नदेखिएसंगै निकुञ्जभित्रबाट भूमिगत केबुल बिछ्याउने समग्र प्रक्रियामा समेत प्राधिकरणको निर्देशक एवं प्रवक्ताका रुपमा बस्यालले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । माडीमा विध्युत प्राधिकरण पीडित संघर्ष समितिले बसन्तपुर स्टेशन चार्ज गर्न अवरोध गरेको समयमा भएको त्रिपक्षीय वार्तामा उहाँ प्राधिकरणको टीमबाट सहभागी रही समाधानमा खटिनुभएको थियो ।

दिवंगत बस्यालले माडी माध्यमिक विद्यालय र रामपुरस्थित कृषि क्याम्पसमा शिक्षण समेत गर्नुभएको थियो । २००९ असोज २६ गते जन्मनुभएका उहाँको आज (बिहीबार) साँझ ६ बजे उपचारका क्रममा निधन भएको हो । करीब २ साताको अस्पताल बसाईपछि घरमा ल्याएलगत्तै उहाँको निधन भएको परिवार श्रोतले जनाएको हो । दिवंगत बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।