

माडी, चितवन । माडी-८ वडाबासीले वडाध्यक्ष एवं वडा कार्यालयसमक्ष वडाका योजना, कार्यक्रम र विकास निर्माण सम्बन्धी दर्जनौं सवाल उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा बिहीबार वडा कार्यालय परिसर, खरकट्टामा सम्पन्न वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीहरुको प्रश्न, जिज्ञासा र सुझावहरु निरुपण भएको हो ।
कार्यक्रममा प्रश्न गर्दै वडाबासी केशमाया गायकले कान्तिपुर जाने बाटो मर्मतमा वडाध्यक्षको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । त्यस्तै वीरबहादुर अधिकारीले कुलो नहुँदा किसानलाई बीउ बिजन राख्न र खेतीपाती लगाउन समस्या भएको गुनासो गर्नुभयो । त्यसैगरी, तिलक नेपालीले दलित कोटाको शौचालय हुनेखानेलाई परेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै वडाबासी राजन आलेमगरले बैकुण्ठेधाम जाने बाटोको झाडी मर्मतका लागि सुझाव दिनुभयो । त्यसैगरी शारदा गायकले नारी दिवसका लागि बजेट व्यवस्थापन गरिदिन माग गर्नुभयो भने सिद्धिलाल गायकले भालूनालामा पुलको आवश्यकता रहेको र बैकुण्ठे तालकोे संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी डिलबहादुर गायकले वडा समितिमा सहकार्यमा ध्यान दिन अनुरोध गर्नुभयो । वडाले कृषिमा लगानी बढाउनुपर्ने, बैकुण्ठेतालमा थप मानिसको मृत्यु रोक्ने उपाय गर्नुपर्ने र योजनाहरुको विवरण फ्लेक्स छपाई वडा कार्यालयमा टाँस गर्नुपर्ने माग गर्नुभयो ।
अर्का वक्ता छविलाल गायकले पोलबत्ती जडान र कान्तिपुर सडकको नापी गरी कालोपत्रे बाटो निर्माणको माग गर्नुभयो । त्यस्तै, कृष्ण थापाले बैकुण्ठे मेलाको हिसाब सार्वजनिक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै दलका वडास्तीय प्रतिनिधिहरुले विभिन्न सुझावहरु पेश गरेका थिए ।
वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सो सुनुवाईमा वडा सदस्य जीतबहादुर शाहीले स्वागत तथा स्वदेशकर्मी दीप्ति विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा वडाका राजनैतिक दल, सामाजिक संघसंस्था, शैक्षिक एवं सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।