चितवन खबर पोष्ट

माडी–९ को सार्वजनिक सुनुवाई सम्पन्न, वडाबासीले उजागर गरे दर्जनौं महत्वपूर्ण सवाल

माडी, चितवन । माडी–९ वडाबासीले वडाध्यक्ष एवं वडा कार्यालयसमक्ष वडाका योजना, कार्यक्रम र विकास निर्माण सम्बन्धी दर्जनौं सवाल उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा शुक्रबार वडा कार्यालय परिसरमा सम्पन्न वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीहरुको प्रश्न, जिज्ञासा र सुझावहरु निरुपण भएको हो ।

कार्यक्रममा प्रश्न गर्दै वडाबासी विवेक अनुरागीले आत्महत्या रोकथामकोे लागि वडा कार्यालयले थप ध्यान दिन अनुरोध गर्नुभयो । वडामा स्थानीय विद्यालय, सोको व्यवस्थापन समिति र वडाबिचको समन्वयको अवस्थाबारे प्रश्न उठाउँदै उहाँले सामाजिक सञ्जालमा लेख्दा पनि भनाई खानु परेको उल्लेख गर्नुभयो ।

त्यस्तै, दधिराम दाहालले शिक्षा स्वास्थ्य, तटबन्ध, जंगली जनावर रोक्न विशेष कार्यक्रमको माग गर्दै कृष्णनगर क्षेत्रमा खानेपानीबाट विमुख हुनपरेकोे गुनासो गर्नुभयो । अर्का स्थानीयबासी प्रेमप्रसाद भण्डारीले जग्गा पुर्जा दिने आश्वासन मात्र भएको गुनासो गर्दै सामुदायिक वनमा मेसजालीको काम वन उपभोक्ता समूहले नै गर्दा राम्रो हुने बताउनुभयो ।

त्यस्तै, अर्का वक्ता भक्ति प्रसाद पाण्डेले वडाको बजेट विनियोजन गर्दा सूचना नपाएको र रीउ बगहींमा परेको बजेट कम भएको भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै वडाबासी प्रेम आचार्यले वडाले राम्रो पहल लिइरहेको भन्दै हौसला दिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

त्यसैगरी, श्याम दुराले वडाको १ करोड २५ लाख बजेट मध्ये बगहीबाट प्यालीतर्फ कम बजेट विनियोजन भएको तथा रेडक्रसबाट चलेको एम्बुलेन्स जीर्ण भएको गुनासो गर्नुभयो । ईश्वरी बोटेले सागबारी सडक कालोपत्रे गर्ने माग गर्नुभयो ।

पूर्ण बहादुर गुरुङले माडी ९ कोे मुख्य सडक धूलो र प्रदूषण बढेकाले व्यवस्थापनमा ध्यान दिन, चौर मर्मत र वडा कार्यालय परिसरमा वृक्षरोपण गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमका वक्ताहरुले जंगली जनावरबाट त्रास भएको, टोल समिति दर्ता नभएको, सडकबत्तीकोे बिजुलीको मीटरको बिल तिर्न बाँकी रहेको लगायतका बिषय उठान गरेका थिए । कार्यक्रममा बोल्दै दलका वडास्तीय प्रतिनिधिहरुले विभिन्न सुझावहरु पेश गरेका थिए ।

वडाध्यक्ष घनश्याम दवाडीको अध्यक्षतामा सम्पन्न सो सुनुवाईमा वडा सदस्य मोहन स्याङताले स्वागत तथा वडा सचिव गंगा भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । स्वदेशकर्मी देवनारायण शाहले सहजिकरण गर्नुभएको सो कार्यक्रममा वडाका राजनैतिक दल, सामाजिक संघसंस्था, शैक्षिक एवं सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार