

माडी चितवन – जनतासँग माओवादीः तराई-मधेस जागरण अभियानका क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार माडीमा बस्नुहुने भएको छ ।

प्रचण्ड सहितको टोली पर्साको ठोरी क्षेत्र हुँदै शुक्रबार (चैत ८ गते) दिउँसो ३ बजे हनुमानभुला पुग्ने र त्यहाँको भेटघाट सकिएसंगै सो दिन बेलुका ५ बजे बगहीँ हुँदै माडी प्रवेश गरी साँझ माडी–९, कृष्णनगरमा बास बस्ने कार्यक्रम तय भएको हो ।

त्यसपश्चात शनिवार (चैत ९ गते) कृष्णनगरबाट मर्निङ वाक गर्दै देबेन्द्रपुरसम्म आउने र त्यहाँ चिया खाजा खाई बसन्तपुर बजारमा शहीद स्तम्भ तथा दिवाकर बाटिकास्थित दिवाकर भुसालको शालिकमा शालिकमा गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका माडी नगर अध्यक्ष भरत तिमिल्सिनाले बताउनुभयो ।

बसन्तपुर बजारबाट दिवाकर बाटिका अवलोकन गरी सितलपुरस्थित एकता स्तम्भको समेत अवलोकन गर्दै बिहान ११ बजे बरुवा बजारमा कोणसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर प्रसाद ढकालले जनाउनुभयो ।
त्यसपश्चात माओवादी अध्यक्ष प्रचण्डले दिउँसो १ बजे भरतपुर महानगरपालिका–२३, जगतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुनेछ । गत फागुन १२ गते झापाबाट सुरु भएको अभियानका क्रममा जनसभा, चोकसभा (कोणसभा), अन्तर्क्रिया, जनभेटघाट आदि हुँदै आएका छन् । (फाइल फोटो)