

चितवन, माडी — बैकुण्ठ तालको सिरानमा रहेको करिब ६० मिटर उचाइबाट खस्ने माडीकै लामो धनलक्ष्मी छाँगा (झरना) पर्याप्त प्रचार-प्रसार र सहज बाटोको अभावमा ओझेल परेको छ ।

माडी नगरपालिका–८ मा रहेको सो छाँगा पुग्न बैकुण्ठ तालबाट करीब डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ । वैकुण्ठ ताल धार्मिक तथा घुमफिरको दृष्टिले परिचित भए पनि त्यसको सिरान क्षेत्रमा रहेको सो छाँगामा निकै कम मानिस मात्रै पुगेका छन् ।

‘बैकुण्ठ क्षेत्रको पर्यटन विकास गर्दैगर्दा सो छाँगोलाई समेत समेट्ने योजना अगाडि बढाइएको’ माडी ८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले बताउनुभयो । हाल बैकुण्ठ धामसम्म कालोपत्रे सडक सहितको मोटरबाटो निर्माण भइसकेको छ । ‘पछिल्लो समय धनलक्ष्मी छाँगासम्म पुग्न सक्ने पूर्वाधार विस्तारसँगै पर्यटन प्रवर्द्धन अगाडि बढाइएको’ उहाँको भनाई छ ।

वैकुण्ठ ताल र छाँगाको बीचमा रहेका खोली, दोभान र चट्टानले यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा थप आकर्षण थपेको छ । कृष्णनगरस्थित शान्त घर रिसोर्टले सो छाँगासम्म पैदलयात्रा सहित नाइट स्टेको प्याकेज सञ्चालन गर्नेगरेको छ । स्थानीय युवाहरू समूह बनाइ सो छाँगासम्म पुग्ने र पाैडने गरेका छन् ।