चितवन खबर पोष्ट

‘पारिवारिक पक्षपातको आशंका हटाउन’ रास्वपा भरतपुर कोषाध्यक्ष मनरुपा पौडेलद्वारा राजीनामा

चितवन, माडी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाकी कोषाध्यक्ष मनरुपा पौडेलले पदबाट राजीनामा दिनुभएको छ। पारिवारिक पक्षपातको आशंका हटाउने र पार्टीभित्र नीतिगत पारदर्शिता कायम राख्ने उद्देश्यले आफूले स्वेच्छिक राजीनामा दिएको उहाँले बताउनुभएको छ।

पौडेलका श्रीमान् कृष्णहरी पौडेल पार्टीको केन्द्रीय शिक्षा विभागमा उपप्रमुखको रूपमा क्रियाशील रहँदै आउनुभएको छ। एउटै परिवारका दुई सदस्यले पार्टीभित्र महत्वपूर्ण जिम्मेवारी सम्हाल्दा गलत सन्देश जान सक्ने भन्दै मनरुपाले पद त्याग गर्ने निर्णय लिनुभएको हो।

“म मेरो निर्णयबाट पार्टीभित्र नीतिगत पारदर्शिता र इमान्दारिताको सन्देश अझै मजबुत हुने विश्वास लिएको छु,” पौडेलले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । उहाँको यो निर्णय पार्टीभित्र सकारात्मक रूपमा लिइएको छ।

एउटै परिवारबाट दुई जनाले जिम्मेवारी सम्हाल्नु पार्टीको मूल्य र आचारसंहितासँग मेल नखाने भन्दै पौडेलको निर्णयलाई साहसिक, नैतिक र उदाहरणीय भनेर रास्वपा भित्र चर्चा भइरहेको छ। पौडेलको राजीनामा स्वीकृत गर्दै रास्वपा भरतपुर महानगरपालिकाले नयाँ कोषाध्यक्षका रूपमा आकांक्षा पोखरेललाई नियुक्त गरेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार