

माडी, चितवन — भारतको उत्तर प्रदेशस्थित सोनभद्र जिल्लाको दुध्दीमा सम्पन्न अन्तर्राष्ट्रिय रक्तवीर वीरङ्गना सम्मान समारोहमा माडीका तीन जना रक्त अभियन्ता भागीरथ बस्याल, हरिप्रसाद न्यौपाने र विपिन पाठक सम्मानित भएका छन्।

बस्याल ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय सल्लाहकार, न्यौपाने केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पाठक चितवन जिल्ला सचिव एवं साहित्यकार समेत हुनुहुन्छ। ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी को नेतृत्वमा नेपाली टोली सो समारोहमा सहभागी भएको थियो। कार्यक्रम प्रगति फाउन्डेसनको विशेष निमन्त्रणामा सम्पन्न भएको थियो।

समारोहमा भारतका विभिन्न राज्यसहित नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का लगायत देशका रक्त अभियन्ताहरू सहभागी थिए। कार्यक्रममा भारतीय सांसद भुपेश चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

उक्त अवसरमा बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। सम्मानित अभियन्ता हरिप्रसाद न्यौपानेले अन्तर्राष्ट्रिय सम्मानले आफूलाई अझ उत्साह र प्रेरणा मिलेको बताउनुभयो। रक्तदान अभियानीका रूपमा लामो समयदेखि क्रियाशील यी तीन व्यक्तित्वको सम्मानले माडीको नाम अन्तर्राष्ट्रिय मञ्चमा उज्यालो पारेको छ।