

माडी, चितवन | माडी नगर प्रज्ञा प्रतिष्ठान सिफारिस समिति सदस्यमा डा. धनेश्वर भट्टराई र दिनेश्वर महतो मनोनित हुनुभएको छ ।

माडी नगरपालिकाको ४३औं कार्यपालिका बैठकले माडी प्रजा प्रतिष्ठान गठनका लागि सिफारिस समितिमा साहित्यसर्जक एवं प्राध्यापक डा. धनेश्वर भट्टराई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मुर्तीकला विभाग प्रमुख दिनेश्वर महतोलाई सदस्यमा मनोनित गरेको हो । सिफारिस समितिको संयोजक भने सम्बन्धित विषयगत समितिका संयोजक नै रहनेछन् ।

सिफारिस समितिले माडी नगर प्रज्ञा प्रतिष्ठानका लागि प्राज्ञ (व्यक्ति)हरुको नाम सिफारिस गर्नेछ । नगरभित्र स्वायत्त निकायका रुपमा रहने प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरु गरी १७ जनाको प्राज्ञ सभा रहनेछ ।

यसअघि माडी नगरपालिकाको १४औं नगरसभाले माडी नगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको आधार तयार गर्दै ’माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित गरेको थियो । नगर क्षेत्रमा रहेका भाषा, साहित्य, ललितकला, गीत, संगित, दर्शन, सामाजिकशास्त्र, ज्ञान विज्ञान तथा संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वर्द्धन एवं विकास गर्ने उद्देश्ययुक्त माडी नगर प्रज्ञा प्रतिष्ठान गठन हुनलागेको हो ।