

चितवन, माडी — नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ र ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा भरतपुरका दुई विद्यार्थीको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ८ का प्रविशन पाठक र वडा नं. ४ का शिशिर पन्तको सोमबार दिउँसो २ बजे डुबेर मृत्यु भएको हो । युट्युब भिडियो हेरेर पौडी खेल्न गएका तीनजनामध्ये एक जना डुबेपछि अर्का साथीले बचाउने प्रयास गर्दा दुबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख इन्स्पेक्टर कमला नरालले जानकारी दिनुभयो ।
नजिकै काम गरिरहेका मजदुरहरुले शव निकालेका थिए । दुबै जना एसईई परीक्षा सकेर घरमै बसिरहेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ । पुल निर्माणका कारण खोलामा पानी थुप्रिँदै जाँदा त्यहाँ पौडी खेल्न युवाहरू जाने गरेका छन् ।


