

चितवन, माडी — चितवनको भरतपुर अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब र जलन वार्डको सेवा सुरु भएको छ । संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार दुवै सेवाको उद्घाटन गर्नुभएको हो ।
त्यसैगरी उहाँले अस्पतालमा निर्मित जलन वार्डको समेत उद्घाटन गर्दै विपन्नलाई जलन उपचार निःशुल्क हुने घोषणा समेत गर्नुभयो । यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ ।
मन्त्री पौडेलले बागमती प्रदेशभरमै विशिष्ट उपचार सेवा विस्तार गर्ने लक्ष्यअनुसार यो पहल गरिएको बताउनुभयो । सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले अस्पतालमा इनफर्टिलिटी क्लिनिकसहित आठ नयाँ सेवा सुरु गरिएको जानकारी दिनुभयो ।


