

चितवन, माडी — माडी नगरपालिकाको कार्यपालिका बैठकले विगतमा विपन्न घरधुरी बीमा कार्यक्रम गरिएका घरधुरीहरूलाई यस वर्ष पनि सो बीमा कार्यक्रममा समावेश गराउने निर्णय गरेको छ ।
जंगली जनावरको आक्रमण, बाढी र आगलागी लगायतका विपद्हरुवाट माडी नगरपालिका क्षेत्रभित्र बर्षेनी घरहरु क्षती भई सर्वसाधारणलाई मर्का परिरहेको सन्दर्भमा नगरपालिकाले निःशुल्क घर वीमाको कार्यक्रम सञ्चालन जारी राखेको हो । यसबर्ष थप विपन्न घरधुरी पहिचान गरी बीमा कार्यक्रममा आवद्ध गराउने जनाइएको छ ।
यसबाहेक, नगर कार्यपालिका बैठकले दिवाकर स्मृति विद्यालयको शैक्षिक गुणस्तर सुधार योजनाबाट विद्यालय वस खरीदका लागि नपुग बजेट खर्च गर्न अनुमति दिने, गर्दी स्वास्थ्य चौकीको माथिल्लो तल्लामा ट्रस निर्माणका लागि श्रोत सुनिश्चित गर्ने र माडी ९ कुसुमखोलामा अन्य स्थानबाट अनधिकृत रुपमा बसाईं सरी आउने कार्यलाई नियन्त्रण गर्न पहल गर्ने लगायतका निर्णयहरु समेत गरिएको सार्वजनिक गरिएको छ ।


