

चितवन, माडी — माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र दुई सिफ्टमा सञ्चालन हुनेभएको छ । नगरको ४३औं कार्यपालिका बैठकले माडी-६, मजुवास्थित सो क्रसर प्लाण्टलाई दुई सिफ्टमा बहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय कार्यालय समयावधीभर (१०-५) मात्रै सञ्चालन हुँदैआएको सो प्रशोधन केन्द्रले ढुङ्गा, गिट्टी, बालुवाजस्ता निर्माण सामग्रीहरुको माग अनुसार पर्याप्त उत्पादन दिन (माग धान्न) सकिरहेको छैन । माडी नगरपालिकाको आन्तरिक आम्दानीको मुख्य श्रोत समेत रहेको सो प्रशोधन केन्द्र दुई सिफ्टमा सञ्चालन हुँदा उत्पादन बृद्धि भई उपभोक्ताहरुको माग पुर्ती हुनुका साथै नगरको आन्तरिक आयमा समेत बढोत्तरी हुन सक्नेछ ।
कार्यपालिका बैठकले प्लाण्टलाई व्यवस्थित तरिकाले सञ्चालनका लागि पूर्वाधार विकास समिति संयोजक गणेश प्रसाद बिश्वकर्माको संयोजकत्वमा वडाध्यक्ष दीपेन्द्रराज पौडेल, कार्यपालिका सदस्य कमल भुजेल, वडा सदस्य सुकदेव लामिछाने र राजश्व शाखाप्रमुख सन्तोष सुवेदी सदस्य रहनुभएको सहजिकरण समिति गठन गरेको हो ।


