चितवन खबर पोष्ट

माडी नगरपालिकाद्वारा भान्सा र भोजभतेरमा प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध

चितवन, माडी — माडी नगरपालिकाले भान्सा र भोजभतेरमा प्रयोग हुने प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

नगरपालिकाको ४३औं कार्यपालिका बैठकले ‘वातावरण प्रदूषण नियन्त्रणका सन्दर्भमा प्लाष्टिकजन्य भाँडो (किचन) सामग्री र कालो प्लाष्टिक झोला पालिका क्षेत्रमा बिक्री वितरण गर्न नपाउने सम्बन्धी जानकारी दिन एक महिनाको समयावधि दिई सूचना प्रसारण तथा प्रकाशन गर्ने साथै सो समयावधि समाप्त पश्चात उक्त सामाग्री बिक्री वितरणमा रोक लगाउने’ निर्णय गरेको हो ।

यस निर्णय अन्तरगत कागजबाट बनेको बाहेक प्लाष्टिकबाट बनेका प्लेट, चम्चा, गिलास, थाल आदिको प्रयोग बर्जित रहने छ । त्यस्तै पुनप्रर्योगबाट बनेका २० माइक्रोनभन्दा कम (कालो) प्लास्टिकका झोला (थैली)हरुको प्रयोग एवं विक्रीवितरण समेत रोकिने नगरका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताउनुभयो ।

यसैगरी, बोटलिङ गरिएको पेय पदार्थहरुको प्रयोगलाई न्यूनीकरण गर्न एवं स्थानीय स्वच्छ खाद्य पदार्थको उत्पादनको प्रवर्द्धन गर्न अन्तरक्रिया छलफल एवं सञ्चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरिएको जनाइएको छ । देशकै एकमात्र ईको नगरका रुपमा परिचित माडी नगरले वातावरणीय प्रदूषण न्यूनिकरणका लागि प्लाष्टिकजन्य पदार्थ नियन्त्रण गर्ने राम्रो निर्णय गरेकोले यसको कार्यान्वयमा सबैको प्रयास हुनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार