

चितवन, माडी — नेकपा (एकीकृत समाजवादी) माडी नगर कमिटिले जनजीविका र विकास निर्माण सम्बन्धी १५ बुँदे माग सहित माडी नगरपालिका समक्ष ज्ञापनपत्र पेश गरेको छ ।

देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाउने क्रममा सो पार्टीका माडी नगर अध्यक्ष पुरन महतो र सचिव तारानाथ चापागाईं सहित एवं जिल्ला तथा प्रदेशस्तरीय नेतृत्व टोलीले माडी नगरप्रमुख ताराकुमारी काजी महतोसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कृषि प्रणालीलाई सवल र सुदृढ बनाउनुपर्ने, सिंचाइको सुविधा बढाउनुपर्ने, खोलाले क्षती गरेका जमीन संरक्षण र नदी तटबन्धन गर्नुपर्ने, सडक निर्माण कार्य अगाडि बढाउनुपर्ने, कक्षा १ देखि १२ सम्म पूर्ण निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने माग रहेको पार्टीका चितवन जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. ३ ईञ्चार्ज प्रेमराज तिमिल्सिनाले जनाउनुभयो ।

यसैगरी निकुञ्जभित्रको बाटो स्तरोन्नति र निकुञ्ज ऐन शंसोधनको पहल गर्नुपर्ने, गिटी ढुंगाको रोयल्टी एकद्वार प्रणालीबाट लिइनुपर्ने, जंगली जनावरबाट भएको क्षतीको क्षतीपूर्ति बढाउनुपर्ने, भित्री बाटोहरुमा नाला निर्माण सहित कालोपत्रे गरिनुपर्ने, माडी क्याम्पसको धान्याचल चन्दाको असुली र उठ्न बाँकी रहेको अवस्था सार्वजनिक गर्नुपर्ने, एकीकृत सम्पत्ती कर र मालपोत शुल्क कम गर्नुपर्ने, धार्मिक स्थलहरु जोड्ने पर्यटकीय पूर्वाधार निर्माण हुनुपर्ने लगायतका माग समेत रहेका छन् ।
पार्टी केन्द्रको निर्णयअनुसार सोमबार एकीकृत समाजवादीले देशभरका पालिकामा सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर ज्ञापनपत्र बुझाएको तथा पहिलो चरणको आन्दोलन कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको पार्टी नेता नारदमणि पौडेलले जानकारी दिनुभयो ।