

माडी, चितवन — माडीको देवेन्द्रपुरस्थित शनि धामस्थित शनि मन्दिर भक्तपुरे ‘टेलिया’ र ‘डाचिअप्पा’ ईंटाबाट सजिएसंगै निकै आकर्षक देखिएको छ ।
भक्तपुरबाटै ल्याइएको ईंटाको जडान समेत त्यहींका ज्यामी (डकर्मी)हरुबाट भएको हो । टिकाउ र सौन्दर्यात्मक विशेषता भएका डाचिअप्पा रातो रङका चिल्ला परम्परागत नेवारी ईंटा हुन्, जो काठमाडौं उपत्यकाका पुराना र ऐतिहासिक भवनहरूको निर्माणमा प्रयोग भएको पाइन्छ । टेलिया ईंटालाई भने भुईंमा बिछ्याउने गरिन्छ ।

टेलिया र डाचिअप्पाबाट सजिएको सो मन्दिर एवं शनि धाममा आउँदो शनि जयन्तिका दिन शनि जयन्ती विशेष उत्सव आयोजना भएको छ । शनि जयन्ती पर्वको अवसर पारी आउँदो जेष्ठ १३ गते माडी नगरस्तरीय भजन प्रतियोगिताका साथै राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति आयोजना भएको हो ।

सो ‘दशौं शनि जयन्ती उत्सव-२०८२’ को मञ्चबाटै माडी सम्बन्धी नयाँ धार्मिक भजन रिलिज (सार्वजनिक गर्ने) कार्यक्रम रहेको तथा मन्दिरलाई सहयोग गरिआएका १०० बढी सहयोगदाताहरुलाई सम्मान गरिने शनि धामका अध्यक्ष युवा पण्ठित सुदर्शन सुवेदीले जनाउनुभयो ।