

चितवन, माडी — माडीको बैकुण्ठ क्षेत्रस्थित बुद्ध पार्कमा पूर्णकदको बुद्ध मुर्ती सहित बुद्ध स्तुपा निर्माण कार्यको औपचारिक सुरुवात भएको छ ।
जापानी नागरिक मिहो तान्वाराको विशेष पहल र सहयोगमा बुद्धको प्रतिमुर्ती राख्न लागिएको हो । बुद्ध जयन्ति पर्वको शुभ अवसर पारी माडी नगरप्रमुख ताराकुमारी काजी महतो र जापानी समाजसेवी समेत रहनुभएका तान्वाराले संयुक्त रुपमा सो कार्यको सुरुवात गर्नुभयो ।

बैकुण्ठ मेला लाग्ने चौर छेउको डाँडोमाथि फराकिलो क्षेत्रमा निर्माण सुरु भएको बुद्धपार्कमा प्रवेशद्वार गेट र बाटोको सिंढीसंगै सत्तल, बौद्ध स्तुपा, ध्यान केन्द्र र कम्पाउण्ड पर्खालका साथै बुद्ध कलेज सञ्चालन गर्ने सम्मको योजना रहेको पार्क निर्माण समितिका उपाध्यक्ष मोहन आलेमगरले जनाउनुभयो ।

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्तीका अवसरमा पञ्चेबाजा र बुद्धिष्ट स्त्रोत्र सहित बौद्ध पराम्पराअनुसार बुद्धमुर्तीको नमुना राखिएको हो । सो मुर्तीकै आकृतिको भीमकाय पूर्णकदको मुर्ती प्रतिस्थापन गरिने पार्क निर्माण समितिका अध्यक्ष कृष्णराज अधिकारीले जनाउनुभयो ।