

माडी, चितवन — ३२औं मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले माडीनगर कमिटी र वडा नं ६ कमिटीले पुष्पमदन वाटिका सरसफाई, वृक्षारोपण एवं गोडमेल गरेको छ ।
पार्टीका तात्कालीन महासचिव तथा “जनताको बहुदलीय जनवाद“ का प्रवर्तक नेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वाटिकामा स्मृति दिवस मनाइएको एमाले माडी नगर अध्यक्ष नारायण अधिकारीले जनाउनुभयो ।

एमाले जिल्ला सचिवालय सदस्य शिवहरी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा पार्टीका जिल्ला सदस्य तथा माडी नगरप्रमुख ताराकाजी महतोको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा पार्टीका जिल्ला, नगर र वडातहका नेता कार्यक्रर्ताहरू सहभागी रहेका थिए ।

२०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।