

माडी, चितवन — माडी–९, कृष्णनगरस्थित सेतो पहिरोमा निर्मित काल भैरव मन्दिर परिसरमा काल भैरवको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । शनिवार बिहान शुभ मुहूर्त पारी एक विशेष धार्मिक समारोहका बीच मुर्ती अनावरण तथा प्राण प्रतिष्ठा भएको हो ।
बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको विशेष उपस्थितिमा सञ्चालित सो कार्यक्रममा माडी-९ का वडाध्यक्ष घनश्याम दवाडी लगायत स्थानीय अगुवा, बुद्धिजीवी, पर्यटनकर्मी, युवा तथा महिला समूहहरूको उल्लेखनीय सहभागिता रह्यो ।

कार्यक्रममा दुरा सेवा समाजले पञ्चेबाजा सौजन्य गरेको तथा स्थानीयवासीहरुको चन्दा संकलनबाट पुजा सञ्चालन गरिएको सेतो पहिरो पर्यटन विकासका अभियन्ता प्रेम आचार्यले जनाउनुभयो । वैदिक मन्त्रोच्चारणसहित पण्डितद्वारा मूर्तिमा प्राण प्रतिष्ठा गरिएपछि कालभैरव थानमा आधिकारिक रूपमा पूजाआराधना सुरु भएको छ ।

टम्टा अनार सामुदायिक वन क्षेत्रमा रहेको सो पहिरो (पहरा)को सिरानबाट माडी उपत्यकाका सबैजसो क्षेत्रसंगै ठोरीतर्फ दबुवा खोला लगायतका स्थान प्रष्ट देख्न सकिन्छ । पहराको फेंदीमा हरियाली वातावरण सहितको पिकनिक स्पट समेत रहेको छ भने नजिकै होमस्टेहरु सञ्चालनमा रहेका छन् ।