

माडी, चितवन — समाजसेवी कृष्ण गुरुङले लण्डन म्याराथुनमा सहभागी रहँदै संकलन गर्नुभएको सहयोग रकमबाट (नेपालको चितवनमा) माडीका चारजना एकल महिलाहरुलाई ‘उद्यम विकास बीउपुँजी’ प्रदान गरिएको छ ।
ग्रिनल्याण्ड युवा क्लबको स्थानीय आयोजना र स्थानीय व्यवस्थापनमा शनिवार एक कार्यक्रमबिच पूर्वी माडीका श्रीमान गुमाएका चारजना एकल महिलाहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैंयाका दरले बीउपुँजी रकम प्रदान गरिएको हो ।

विभिन्न कालखण्डमा श्रीमानको निधन भई एकल महिला रहनुभएका माडी-९ निवासी मीना भण्डारी, मञ्जु अधिकारी, सरला अधिकारी र हितमाया गुरुङलाई बाँकी जीवनमा उद्यम विकास गरी आयआर्जनमा सघाउन सो बीउपुँजी उपलब्ध गराइएको क्लबका सचिव विनोद अधिकारीले जनाउनुभयो ।

क्लबका अध्यक्ष सहदेव गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा CAT UK का संस्थापक अध्यक्ष कपिल श्रेष्ठ तथा समाजसेवी कृष्ण गुरुङका बुवा पूर्ण बहादुर गुरुङले रकम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि रहँदै माडी–९का वडाध्यक्ष घनश्याम दवाडीले ‘तन बेलायतमा रहेपनि मनमा संधै माडी बोकिहिँड्नुहुने गुरुङलाई धन्यवाद’ व्यक्त गर्नुभयो ।
गोर्खाप्रेनियर फाउण्डेशनका सञ्चालक समेत रहनुभएका माडी कृष्णनगर निवासी व्यवसायी एवं सामाजिक अभियन्ता गुरुङ, सहयोग संकलनको आह्वानसहित यसअघि गत अप्रिल २७ (आमाको मुख हेर्ने दिन)मा विश्वप्रसिद्ध लन्डन म्याराथनमा सहभागी रहनुभएको थियो । उहाँको सहयोगमा यसअघि माडीका तीनजना महिलाहरुलाई बीउपुजी सहयोग भएकोमा हाल उनीहरुले आर्थिक स्वावलम्बन हासिल गरिसकेका छन् ।