चितवन खबर पोष्ट

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन ।

शनिवार दिउँसो स्वदेश एफ.एम.को प्रश्नमा ठेकदार कम्पनीका प्रतिनिधि तुलसी घिमिरेले अस्फाल्ट राख्ने मजदुर समूह आइनपुगेकोले काम रोकिएको बताए । उनले कहिलेबाट सुचारु गर्ने ठेट जवाफ दिन सक्ने अवस्था नरहेको पनि बताए ।

यसअघि बैशाख २० गतेभित्र सो सडक खण्डमा बि.बि.एम. सहित अस्फाल्टको काम पुरा गरिसक्ने उनको सार्वजनिक प्रतिवद्धता थियो । तर प्रतिवद्धता बमोजिम बैशाखमा काम पुरा हुन त के, सुरुवात समेत हुन सकेन ।

करीब २.५ किलोमिटर लम्बाइको सो सडकमा चैत अन्तिम साता प्राइम छर्किइएको हो । सो समयदेखि नै हुलाकी सडकमा डाइभर्सन चलिरहेकाले सवारी चालक र स्थानीयबासीले सास्ती पाइरहेका छन् । अझै कहिलेसम्म यातायात प्रभावित रहने, अनिश्चित नै छ ।

देबेन्द्रपुरको सीमामा रहेको परुई खोलादेखि बगहीसम्म करीब ८.१५७ किलोमिटर लम्बाई तथा ७ मिटर चौडाईको सो दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको ३५ करोड लागतमा निर्माण भइरहेको हो ।

ठेकदार घिमिरेले सडकमा राख्ने बेस निकाल्ने भन्दै घाँघर खोलामा ‘अस्थायी क्रसर’ चलाइआएका छन् । क्रसरबाट बालुवाको अवैध विक्री वितरण गर्नेगरेको उनीमाथि आरोप लाग्ने गरेको छ । यसैबित, सडक निर्माणमा खबरदारी गर्ने भन्दै आफूलाई ‘खबरदारी अभियान माडी’ बताउने एक समूहले समेत शनिवार ठेकदार घिमिरेलाई भेट गरी खबरदारी गरेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार