

चितवन, माडी – तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा यस वर्ष पनि गत वर्षझैँ जेठाथी (जेठअसारी) पूजा सञ्चालन भएको छ ।
सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको सह–आयोजनामा गुरौ समूहद्वारा पूजाको विधिपूर्वक सम्पन्न भएको हो । राम्ररी वर्षा भई खेतीबाली सप्रियोस् र कुनै रोगव्याधिले नसताओस् भन्ने कामना सहित यो पूजा प्रत्येक वर्ष जेठ महिनामा सञ्चालन हुँदै आएको छ ।

जेठाथी पूजापछि सोमेश्वर कालिकालाई धन्यवाद स्वरूप कार्तिक महिनामा अर्को पूजा गर्ने परम्परा पनि थारु समुदायमा रहेको थारु अगुवाहरूले जनाएका छन् । पूजाका निम्ति अघिल्लो रातीदेखि नै सोमेश्वर गढीमा भक्तजनहरु पुगी रातमा भजनकीर्तन समेत गरेका थिए ।
