

माडी, चितवन – माडी नगरपालिकाको (वर्तमान जनप्रतिनिधिबाट गठित) ‘पहिलो कार्यपालिका बैठकको पहिलो निर्णय’ रहेको ‘हनुमानझुलालाई माडी नगरपालिका वडा नं. १० कायम गर्ने प्रक्रिया’ सम्बन्धमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।
माडी नगरप्रमुख ताराकुमारी काजी महतोसहित हनुमानझुला केन्द्रीत जनप्रतिनिधि र त्यहाँका राजनैतिक एवं सामाजिक अगुवाहरुको एक प्रतिनिधिमण्डलले सोमबार मुख्यमन्त्री बहादुर सिंह लामालाई हेटौंडामा भेट्दै सो प्रस्तावको फाइल अगाडि बढाइदिन पहल गरेको हो ।

माडी उपत्यकाबाट बाहिर रहेको हनुमानझुला (साविक बाँदरझुला)मा ७०५ घरधुरीमा ४३७६ जनसंख्या (पुरुषः २०२३ र महिला २३५२ जना) रहेको बताइन्छ । चितवन राष्ट्रिय निकुञ्ज बाहिर भारतसंगको सीमाक्षेत्रमा रहेको सो बस्तीमा दलित, लोपन्मुख जाति चेपाङ र जनजाति समुदायको बसोबास रहेको छ ।

बाँदरझुला क्षेत्रमा माध्यमिक विद्यालय, मोबाइल टावर, शसस्त्र प्रहरी बलको वोर्ड सुरक्षा पोष्ट, आधारभूत स्वास्थ्य ईकाई, मठमन्दिर, गुम्बा, चर्च, फाइबर इन्टरनेट आदि संरचनाहरु रहेका छन् । माडी नगरपालिका र नेपाल सरकारको करोडौं लगानी भैसकेको सो बस्तीलाई चितवन राष्ट्रिय निकुञ्जले भने अतिक्रमित क्षेत्र मान्दै हरेक जसो विकासे काममा अवरोध गर्दै आएको अवस्था छ ।