

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त भवन १० वर्षको अवधिका लागि न्यूनतम भाडा दर मासिक ३० हजार रूपैंयाका दरले बार्षिक ३ लाख ६० हजार रुपैंया तोकिएको छ । भाडामा लिन इच्छुकले २०८२ साल जेठ २० गतेसम्म कार्यालय समयभित्र आवश्यक कागजातसहित निवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तरगत सशस्त्र प्रहरी बलको पोष्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसंगै जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको छ । होमस्टेभित्र ५ वटा अतिथि आवासगृह, एकवटा सभाहल र एकवटा स्वीमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन् ।

माडी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेटसमेत निर्माण थप गरिएको छ । निर्माणको लामो समयसम्म उपयोग हुन नसक्दा झाडी र फोहोरले ढाकिएको सो संरचनालाई हालै सरसफाई गरी भाडामा लगाउने तयारी गरिएको हो ।