चितवन खबर पोष्ट

छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ ।

माडी-२, सितलपुर, चितवनका स्थायी बासिन्दा रहेका शिव अधिकारीले कोरोना महामारीका कारण पोखराबाट आफ्नो होटल व्यवसाय बन्द गरी लाखौं लगानीका सामानसहित माडी फर्किए । भविष्यमा माडीमै होटल व्यवसाय सुरु गर्ने योजना थियो । अधिकारीका अनुसार, “मैले सामान सुरक्षित राखेँ, किनकि मलाई थाहा थियो, म फेरि व्यवसायमा फर्किन्छु ।”

२०७७ सालमा माडी नगरपालिकाले सोमेश्वर सामुदायिक भवन सञ्चालनका लागि सार्वजनिक टेन्डर आह्वान गरेपछि अधिकारीले निवेदन दिए । टेन्डर प्रक्रिया पार गर्दै उनले मासिक ३२,५०० रुपैयाँको दरमा भवन भाडामा लिने अधिकार प्राप्त गरे । “मैले तीन जनाको प्रतिस्पर्धामा टेन्डर जितेँ,” उनले भने, “तर सम्झौता गर्न जाँदा ६ महिनामात्रै अवधि भनियो र भवनको संरचना पनि अधुरो थियो ।”

अधिकारीका अनुसार, उनले तत्कालीन नगरप्रमुख ठाकुर ढकालसँग भेट गरी सम्झौता अवधि पाँच वर्षको हुनुपर्ने र अधुरो संरचना नगरपालिकाले पुरा गर्नुपर्ने माग राखे । नगरप्रमुखले सकारात्मक प्रतिक्रिया दिएको अधिकारी बताउँछन् । “हामीलाई कागज तयार गरेर बोलाउने आश्वासन दिइयो,” उनले भने, “तर त्यसपछि कहिल्यै खबर आएन।”

वर्षौंसम्म कुर्दा पनि सम्झौताका लागि बोलाइएन । त्यसपछि उनले नगरपालिकामा धरौटी फिर्ताको लागि अनुरोध गरे, तर रु ४,५०० धरौटी पनि फिर्ता नभएको उनले बताए । “म राजनीतिक कार्यकर्ता होइन, कुनै नेताको सहयोगी पनि होइन,” अधिकारी भन्छन्, “सायद यही कारणले म कामबाट बञ्चित भएँ। मैले जि हजुर गर्न जानेनँ, कुनै दलको अन्धभक्त बन्न जानेनँ, त्यसैले मेरो सपना अन्त्य भयो ।”

अधिकारीले सोमेश्वर भवनको नयाँ टेन्डर सूचना पुनः सार्वजनिक भएको देखेर आफ्नो विगतको पीडा स्मरण गर्दै, भावुक अपिल गरेका छन् – “राजनीतिक आग्रह-पूर्वाग्रहले कसैको भविष्य बर्बाद नबनोस्, कसैलाई माडी छोड्न बाध्य नपारियोस् ।”

तपाईको प्रतिक्रिया

ताजा समाचार