

माडी, चितवन — माडीको बरुवा बजारबाट लक्ष्मुनियाँ गाउँ जोड्ने डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत त्यसको मर्मत वा नयाँ पुल निर्माण हुन सकेको छैन ।
सडक कालोपत्रे गर्ने क्रममा २०७७ सालमा पुलको बिचको स्ल्याब भाँचिएको थियो । त्यसक्रममा बिचको स्ल्याब सम्बन्धित निर्माण कम्पनीले नै मर्मत गरिदिएर पुलमा आवगमन चालू भएलगत्तै पुनः अर्को स्ल्याब भाँचिन पुगेको थियो ।

हालसम्म सोही भाँचिएको स्ल्याबमाथिबाट पैदलयात्री र साइकल मोटरसाइकल यात्रा गर्नेगरेपनि त्यसभन्दा ठूला सवारी साधन चल्ने अवस्था छैन । त्यसको प्रभावस्वरुप बरुवा बजार नजिकै रहेपनि लक्ष्मुनियाँ गाउँ क्षेत्र पछाडी पर्नु परिरहेको स्थानीयबासीको गुनासो छ ।

राजनैतिक कारण पुल निर्माण कार्य सुरु हुन नसकिरहेको एक स्थानीयले बताए । माडीका अन्य भित्री गाउँ र खोलाहरुमा पुल बनिरहेपनि व्यस्त रहने सो बाटोमा पुल निर्माण सुरु हुन नसक्नु दुखद् बिषय भन्दै स्थानीयबासीले तत्कालै पुल निर्माण गर्न स्थानीय तथा प्रदेश र संघीय सरकारसमक्ष माग गरेका छन् ।