कृषि र कृषक पोष्ट

चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

माडी, चितवन — चितवन जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्लाको कृषि विकास कार्यालयमा दैनिक चारदेखि पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् ।

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका प्रायः सबै क्षेत्रमा लगाइएका मकैबालीमा उक्त कीराको सङ्क्रमण फैलिएको छ । मकैबाहेक धानमा पनि फौजी कीराको आक्रमण हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अमेरिकन फौजी कीरा पुतली वर्गअन्तर्गत पर्ने रात्रिचर कीरा हो । यसको लार्भाले बालीमा कोतरेर क्षति पुर्‍याउँछ । विशेषगरी मकैबाली मन पराउने यो कीराले मकै नभएमा धान, गहुँ, कोदो आदि बालीमा पनि असर पुर्‍याउने गर्दछ ।

सङ्क्रमण नियन्त्रणका लागि पुराना मकैका ठूटा जलाउने, खेतबारीलाई गहिरो खनजोत गर्ने, मकै उम्रेदेखि नियमित अवलोकन गर्ने र केही समय खेत खाली राख्न चौहानले सुझाव दिनुभयो । सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि उहाँले किसानहरूलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार