

माडी, चितवन — आफ्नो स्थापना दिवसको अवसर पारी माडी जेसीजले सम्पन्न गरेको निःशुल्क स्वास्थ्य शिविरमा करीब १०० जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका छन् ।
“मानव सेवामा समर्पित“ भन्ने मूल भावका साथ, माडी–७ देवेन्द्रपुरस्थित दक्षिण कालिका आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको संस्थाका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिनुभयो । त्यस क्रममा विद्यालयमा अध्ययनरत करीब १०० जना विद्यार्थीहरुको समेत स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक उपेन्द्र निरौलाले जनाउनुभयो ।

समाजसेवा मार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित निरन्तर सक्रिय माडी जेसीजले यसपटक मौलाकालिका अस्पताल प्रा. लि. को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

यसैबिच, माडी जेसिजले शनि धामका लागि दुई थान भलिबल र एक थान भलिबल नेट समेत प्रदान गरेको छ । शिविरकै अवसर पारी जेसिज अध्यक्ष रानाभाटले धामका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीलाई सो खेल सामग्री हस्तान्तरण गर्नुभएको हो । सो खेल सामग्रीबाट शनि जयन्ति पर्वको सन्दर्भमा नगरस्तरीय भलिबल खेल सञ्चालन हुनेछ ।