चितवन खबर पोष्ट

सोमेश्वरगढीको वडा विवादमा आफूलाई मुछिएकोप्रति प्रदेश सांसद ढकालको क्षोभ (भिडियो सहित)

माडी, चितवन — बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले सोमेश्वरगढीको वडा सम्बन्धी विवादमा आफूलाई मुछिएकोप्रति क्षोभ र असन्तोष प्रकट गर्दै सो धार्मिक स्थल वडा नं. ५ मै रहेको बताउनुभएको छ ।

स्वदेश एफ.एम.को कार्यक्रम समय सन्दर्भमा पत्रकार देवनारायण शाहसंग बोल्दै प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति समेत रहनुभएका ढकालले सोमेश्वरगढीको वडा सम्बन्धी विवाद चर्काएर सो धार्मिक तथा पर्यटनस्थललाई नै विवादमा ल्याई असफल बनाउन खोजिएको टिप्पणी गर्नुभयो ।

भौगोलिक हिसाबले बिक्रमबाबा र सोमेश्वर क्षेत्र कुनैपनि वडाको राजनैतिक नक्साभित्र नपरेपनि आफू नगर प्रमुख रहँदा र अहिले गरेका सबै पत्राचारहरुमा सोमेश्वरगढीको ठेगाना माडी–५ नै लेख्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।

यसैबिच, साँसद ढकालले माडी-१, लक्ष्मुनियाँस्थित डाङ्ग्रे खोला पुल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेको र आगामी दुई साताभित्र ठेक्का सम्झौता भइसक्ने बताउनुभएको छ । पुलको ठेक्का लगाउन बागमती प्रदेश सरकारबाट प्राविधिक प्रस्ताव स्वीकृत भई करीब दुई करोड ९५ लाख ६५ हजार कुल लागत रहेको ठेक्का प्रक्रिया अगाडि बढेको जनाउनुभयो ।

बागमती प्रदेश सरकारबाट यसबर्ष चितवनमा निर्माण भइरहेका ७ वटा पुलहरुमध्ये ६ वटा पुल माडीमै निर्माण भइरहेको जानकारी दिँदै उहाँले आगामी आ.व.मा समेत कनेक्टिभिटी (सडक र पुल निर्माण)लाई नै प्राथमिकता दिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार