

माडी, चितवन — कृषि विकास बैंकद्वारा सञ्चालित कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालन भएको छ ।
होटल प्याराडाइजको सभाहलमा सञ्चालित सो कार्यक्रममा कृषि विकास बैंक र भिटा परियोजनाबारे जानकारी, माछाको उत्पादनको अवस्था र चुनौती बिषयमा अन्तरक्रिया र माछाको दीगो मुल्य श्रृङ्खलाका विभिन्न पक्षमाथि प्रस्तुतिकरण तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा माडीका मत्स्य उत्पादक कृषक, खरिदकर्ता वा विक्रेता व्यवसायी, दाना उद्योगी एवं कृषकहरुलाई भिटा परियोजना अन्तरगत ९ प्रतिशत स्थिर व्याजदरमा सहुलियत ऋण प्रवाहकर्ता कृषि विकास बैंकसम्बद्ध बहुसरोकारवालाहरु सहभागी रहेका थिए ।

भिटा कार्यक्रम अन्तरगत कृषि विकास बैंकले बागमती, लुम्बिनी र मधेस प्रदेशका २८ जिल्लामा माछा सहित १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गरी कृषकहरुलाई सहयोग गरिआएको छ ।