कृषि र कृषक पोष्ट

माडी नगरको कृषि नीति : हाटबजार सञ्चालन, कोल्ड च्याम्बर स्थापना, पाइप र कुलो लाइनिङ

माडी, चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/८३ मा सिधुवामा हाटबजार सञ्चालन गर्ने तथा नगर क्षेत्रमा गोदाम घर र कोल्ड च्याम्बर स्थापना गर्ने भएको छ ।

नगरको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको रूपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्न व्यवसायिक कृषि प्रवर्द्धनको रणनीति समेटिएको हो । यसअन्तरगत पूर्ण सिंचित माडिको दीर्घकालीन लक्ष्यका साथ सिँचाइ, सडक, तथा पायक पर्ने पूर्वाधार निर्माणमा प्राथमिकता दिइने उल्लेख छ ।

यस्तै, कृषिलाई यान्त्रिक, व्यवसायिक, वैज्ञानिक, तथा विविधिकृत बनाउँदै स्थानीय उत्पादनलाई बजारीकरणमार्फत आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ । घुम्ती माटो परीक्षण तथा प्लान्ट क्लिनिक जस्ता सेवा विस्तार गरी वैज्ञानिक कृषि अभ्यासलाई प्रोत्साहित गरिने छ।

कृषि पर्यटन, होमस्टे, फार्मस्टे, आधुनिक खाना संस्कृतिको प्रवर्द्धनजस्ता नविनतम उपायमार्फत कृषिको बहुआयामिक मूल्य श्रृंखलालाई समेट्ने लक्ष्य रहेको छ। कृषि उपजको विविधिकरण, सहकारीकरण, तथा मूल्य अभिवृद्धिमा विशेष जोड दिइने समेत उल्लेख रहेको छ ।

यसैगरी, किसानलाई अनुदान, तालिम तथा कृषि प्रोफाइल तयार गरिने, कृषिमा महिलाको भूमिकालाई समेत समावेश गर्दै युवालाई पनि व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने रणनीति लिइएको छ । नगरसभाले मागमा आधारित पाइपलाइन र कुलो लाइनिङका लागि ५० लाख रुपैंया सहित कृषि (विषयगत शाखा)का लागि १ करोड रुपैंयाका विभिन्न १२ वटा कार्यक्रमहरु समेत पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार