

माडी, चितवन । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा नगरको ‘हेल्थ प्रोफाइल’ तयार पारी योजनागत रूपमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति पारित गरेको छ ।
माडी-३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा मंगलबार नगरप्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गर्नुभई पारित अन्य नीतिहरुमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सामुदायिक स्तरमा कार्यक्रम सञ्चालन गरिने र ‘पोषणमैत्री माडी’ बनाउने समेत उल्लेख छ ।

यस्तै, बघौडा अस्पताललाई आईसीयू, पोष्टमार्टम, ल्याब सेवा र ब्लड बैंकसहित स्तरोन्नति गरी रेफरल अस्पतालको रुपमा विकास गरिने साथै अस्पतालको सम्पूर्ण परिसर व्यवस्थित गरिने योजना छ ।

यसबाहेक, स्वास्थ्य संस्थाहरुमा अक्सिजनको सहज उपलब्धता, कर्मचारीको आवश्यकता अनुसार व्यवस्थापन, महिला स्वास्थ्य स्वयंसेविकालाई उचित सम्मान र प्रोत्साहन, कृत्रिम खाद्य पदार्थ तथा पेय पदार्थहरूको नियन्त्रण, स्वास्थ्य बीमा कार्यान्वयन सुधार, र शिक्षण संस्थामा प्रभावकारी ‘विद्यालय नर्स कार्यक्रम’ सञ्चालन गरिने समेत रहेको छ ।
यसबाहेक, आयुर्वेद सेवाको विस्तार, एकीकृत स्वास्थ्य सेवा प्रवर्धन तथा योग, ध्यान, व्यायाम जस्ता जीवनशैली सुधार कार्यक्रमहरूद्वारा गैर–संक्रामक रोगहरू नियन्त्रण गरिने र जडीबुटी खेती प्रवर्धन गर्दै प्राकृतिक उपचार पद्धतिको प्रयोगलाई प्रोत्साहन गरिने समेत उल्लेख रहेको छ ।