

माडी, चितवन । माडी नगरपालिकाले विद्यालयहरुमा “रमाइलो शुक्रबार” र “सिकाइसँगै उत्पादन” कार्यक्रम सहित शैक्षिक सुधारका २६ बुँदे नीति तथा कार्यक्रमहरु पारित गरेको छ ।
नगरप्रमुख ताराकुमारी काजी महतोले मंगलबार १५औं नगरसभामा प्रस्तुत गर्नुभई सर्बसम्मत पारित भएको नीति तथा कार्यक्रममा “गुणस्तरीय शिक्षा : हाम्रो प्रतिबद्धता” भन्ने नारा कायम गर्दै समावेशी, गुणस्तरीय र प्रविधि-सम्मत शिक्षाका लागि बहुआयामिक नीति तथा कार्यक्रम समेटिएको हो ।

नगरपालिकाले सबै सार्वजनिक विद्यालयहरूमा भौतिक र शैक्षिक पूर्वाधार सुधार गर्ने, सिकाइ प्रक्रिया र प्रविधिको प्रयोगमा व्यापक सुधार ल्याउने, आर्थिक रूपमा विपन्न, सीमान्तकृत र अल्पसंख्यक वर्गका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति प्रदान गर्ने र योग्य युवाहरूलाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने भएको हो ।

त्यस्तै, “एक विद्यालय एक कार्यक्रम“, “नगर स्तरीय स्तरीकृत परीक्षा“, स्काउट तालिम, खेलकुद प्रतियोगिता, तथा डिजिटल हाजिरी जस्ता कार्यक्रममार्फत विद्यालयलाई थप सक्रिय र समकालीन बनाउने लक्ष्य लिइएको छ। सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, इन्टरनेट सेवा विस्तार गरी प्रविधि–मैत्री शिक्षा प्रणाली विकास गरिने उल्लेख रहेको छ ।