

माडी, चितवन । माडी नगरपालिकाले ‘थारु मौलिकता झल्किने घरहरुलाई संरक्षण गर्नुका साथै त्यस्ता नयाँ घर निर्माण गर्न प्रोत्साहन’को नीति लिएको छ । नगरप्रमुख ताराकुमारी काजी महतोले मंगलबार १५औं नगरसभामा प्रस्तुत गर्नुभई सर्बसम्मत पारित भएको नीति तथा कार्यक्रमले ‘एक टोल एक रंगको घर निर्माण गर्न प्रोत्साहन गर्ने’ समेत उल्लेख रहेको हो ।
यसबाहेक, ‘सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने’ भएको छ । त्यस्तै, ‘नगर क्षेत्रभित्र ५ लाख रुपैंयाभन्दा माथिका आयोजना निर्माण गर्दा अनिवार्य रुपमा ५ वटा फलफूलका बिरुवा रोप्नुपर्ने’ नीतिमा उल्लेख छ ।

पारित नीति तथा कार्यक्रममा ‘कुल लागत ५ लाख रुपैंया भएको योजनाहरुको सम्झौता वडा कार्यालयबाट वडा सचिवले नै गर्नसक्ने’ व्यवस्था मिलाउने समेत उल्लेख छ । हालसम्म ‘करको दायरामा नआएका उद्योग व्यवसायले २०८२ पौष मसान्तभित्र दर्ता हुन आए विशेष छुट’ दिइने भएको छ ।

यसैगरी, अघिल्ला आर्थिक बर्षका बेरुजु फर्स्यौट गर्न फोकल पर्सन तोकी क्रमशः बेरुजु घटाउने, महत्वपूर्ण सार्वजनिक स्थान र बजार क्षेत्रहरुमा सिसिटिभी जडान गर्ने, युवाहरुलाई लक्षित गर्दै ‘आइसिटी इन्नोभेसन ल्याब’ स्थापना गरी कोडिङ, ग्राफिक्स डिजाइन, मल्टिमिडिया, मोनिटाइजेशन, मोबाइल एप्स विकास लगायतका तालिम दिने र स्टार्टअपहरुलाई सहुलियतपूर्ण सहयोग गर्ने लगायतका नीति समेटिएका छन् ।
यसबाहेक बालबालिकाका लागि संरक्षण, पोषण, बाल उद्यान र विकास केन्द्र सञ्चालन गर्ने, महिलाको क्षमता विकास, आत्मनिर्भरता र हिंसा विरुद्धको सुरक्षालाई संस्थागत गरिने, दलित तथा आदिवासी जनजातिका परम्परागत सीप तथा संस्कृति संरक्षण गर्दै उनीहरूका लागि रोजगारी, सीप विकास र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।