चितवन खबर पोष्ट

माडी नगरपालिकाले आ.व. २०८२/८३ का लागि रू. ९२ करोड ६६ लाख ८८ हजारको बजेट सार्वजनिक

माडी, चितवन । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९२ करोड ६६ लाख ८८ हजार रूपैंयाको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख खेम प्रसाद महतोद्वारा पन्ध्रौँ नगर सभामा प्रस्तुत भई पारित भएको बजेट वक्तव्यमा आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता दिइएको छ ।

मंगलबार पारित भएको सो बजेटमा शिक्षा क्षेत्रका लागि रु. २८ करोडभन्दा बढी रकम छुट्याइएको छ। समुदायिक विद्यालयमा निशुल्क प्याड वितरण, छात्रवृत्ति, गुणस्तरीय शिक्षा प्रवर्धन, र खेलकुद प्रतियोगिताका लागि पनि अलग बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै, कृषि तथा पशुपालन क्षेत्रका लागि झण्डै रु. ३.४४ करोड बजेट विनियोजन गरिएको छ । कृषिलाई आत्मनिर्भर बनाउने, नयाँ प्रविधि भित्र्याउने, कृषकको क्षमतावृद्धि, घुम्ती प्लान्ट क्लिनिक, माटो परीक्षण र बजार सञ्जाल विकास जस्ता कार्यक्रम समावेश छन् ।

त्यसैगरी, पर्यटन प्रवर्धनका लागि रु. ७५ लाख छुट्याइएको छ । थारु संस्कृति झल्किने ‘थारुग्राम’ निर्माण, ट्रेकिङ ट्रेल, जडीबुटी पार्क, वृत्तचित्र निर्माण, भिजिट कार्यक्रम र विभिन्न धार्मिक-सांस्कृतिक स्थलको संरक्षणलाई प्राथमिकता दिइएको छ।

स्वास्थ्य क्षेत्रमा कुल रु. ५ करोड ४० लाखको व्यवस्था गरिएको छ, जसमा अस्पतालको स्तरोन्नति, एम्बुलेन्स सेवा व्यवस्थापन, हेल्थ प्रोफाइल निर्माण, आयुर्वेद सेवा सुदृढीकरण लगायत समावेश रहेको छ ।

यस्तै, पशुपालन र मत्सय क्षेत्रको विकासका लागि रु. १ करोड २० लाखभन्दा बढी र संघीय/प्रदेश सरकारको सहयोगमा थप २.५३ करोड बजेट विनियोजन गरिएको छ । रोजगारी प्रवर्धन तथा सीप विकासमा रु. ५५ लाख बजेट छुट्याइएको छ। बेरोजगार युवालाई लघु उद्यम र वित्तीय साक्षरतामार्फत समावेश गर्ने कार्यक्रम रहेको छ ।

सामाजिक समावेशीकरणका लागि अपांग, दलित, महिला, बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा रु. ५० लाख छुट्याइएको छ । सुशासन प्रवर्धन र प्रशासनिक सुधारका लागि कर संकलन सुधार, डेटा व्यवस्थापन र कर्मचारी सामाजिक सुरक्षा जस्ता कार्यक्रम समावेश छन् ।

नगर उपप्रमुख महतोले प्रस्तुत गर्नुभएको बजेटमा टिप्पणी गर्दै केहि नगरसभा सदस्यहरुले नयाँ र थप योजनाहरु समेट्न माग गरेका थिए । त्यसबारे उत्तरित गर्दै नगरप्रमुख ताराकुमारी काजी महतोले राम्रा कार्यक्रमहरु भए हिँउदे नगरसभाबाट संशोधन गर्न सकिने जनाउनुभएसंगै सो बजेट सर्बसम्मतिले पारित भएको थियो।

तपाईको प्रतिक्रिया

ताजा समाचार