

माडी, चितवन — माडीका सामुदायिक तथा संस्थागत विद्यालयहरूका सञ्चालनमा रहेका चमेना गृह (क्यान्टिन) हरूमा अस्वस्थकर तथा गुणस्तरहीन खाद्य परिकारहरू बनाउने गरेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीका अनुसार, माडी नगरपालिका र विभागको संयुक्त समन्वयमा दुई दिनसम्म सञ्चालित ल्याब परीक्षणसहितको अनुगमनको क्रममा त्यसो पाइएको हो ।

उहाँका अनुसार अधिकांश विद्यालय क्यान्टिनहरूमा स्वास्थ्य मापदण्ड अनुसार सरसफाइ नभएको, खानेकुरा पकाउने तरिका अस्वस्थकर रहेको तथा र गुणस्तरमा व्यापक कमी देखिएको हो ।

अनुगमन टोलीले चमेना गृहमा प्रयोग भएका सामग्रीहरूको नमुना संकलन गरी तत्काल परीक्षणसमेत गरी विभागले विद्यालय प्रशासनलाई सचेत गराउँदै सुधारको निर्देशन दिएको डाक्टर सुवेदीले बताउनुभयो ।
त्यसैगरी अनुगमन टोलीले माडीका फलफूल तथा तरकारी पसलहरुमा गरेको अनुगमनका क्रममा फलफूल र तरकारीहरुमा बिषादिको मात्रा अधिक एवं अस्वस्थकर पाइएको छ । त्यस्ता फलफूल र तरकारीहरु वेगले खस्ने धाराको पानीमा तीनपटक सम्म राम्ररी पखालेर मात्रै खानुपर्ने अन्यथा स्वास्थ्यलाई गम्भीर असर गर्ने डा. सुवेदीले बताउनुभयो ।
त्यस्तै, बजारका अन्य होटलहरुमा गरिएको अनुगमनका क्रममा मिष्ठान्न बनाउन प्रयोग हुने तेल बारम्बार प्रयोग भई विषाक्त हुँदासम्म प्रयोगमै रहेको पाइएको अनुमगन टोलीले जनाइको छ । माडी क्षेत्रमा पहिलोपटक ल्याब परीक्षण गाडीसहितको टोलीले खाद्य अनुगमन गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।