चितवन खबर पोष्ट

रास्वपा माडी आगामी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

माडी, चितवन – माडी क्षेत्रका जनताको अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति मध्यवर्ती निर्वाचनमा सहभागी नहुने भएको छ । रास्वपा माडीले बुधबार एक वक्तव्य जारी गर्दै माडीसम्बन्धित विभिन्न ७ वटा मुद्धाहरुमा उचित छलफल, नीति नियम परिवर्तन र निष्कर्ष नभएसम्म मध्यवर्ती निर्वाचन बहिष्कार गर्ने जनाएको हो ।

सो पार्टीले ‘नदीजन्य रोयल्टी उठाउने अधिकार स्थानीय पालिका (माडी नगरपालिका)लाई दिनुपर्ने’, ‘सुकुम्बासी एवं अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरणमा निकुञ्जका कारण रोकावट हुन नहुने’ तथा ‘संघीय, प्रदेश र स्थानीय सरकारबाट निर्माण गर्न लागिएको विकास परियोजनाहरुमा गरिने अनावश्यक हस्तक्षेप बन्द गरिनुपर्ने’ माग राखेको छ ।

त्यसैगरी, ‘जंगली जनावरहरुबाट हुने जनधनको क्षतीको उचित व्यवस्थापन सहित क्षतीपूर्ति र राहतको व्यवस्था हुनुपर्ने’, ‘माडीमा उत्पादित घरायसी खाद्यसामग्री, तरकारी, पुराना फर्निचर, माछामासुजन्य उत्पादनहरुको ओसार पोसारमा बिना रोकावट बाहिर जान निकास दिनुपर्ने’ र ‘हनुमानझुला क्षेत्रमा कृषिका लागि खनजोत गर्न ट्रयाक्टर, एस्क्याभेटर (जे.सि.बी.) चल्न दिइनुपर्ने’ पनि सर्त राखेको छ ।

रास्वपा माडी नगर सभापति नारायणदत्त रिजालद्वारा हस्ताक्षरित सो वक्तव्यमा पूर्वसर्तहरुको पालना नभएसम्म चुनाव बहिष्कार गरिने सार्वजनिक गर्दै ‘हालकै अवस्थामा चुनावी प्रक्रियामा सहभागी नहुन अन्य राजनैतिक दलहरुलाई पनि आग्रह’ रहेको छ । हाल मुख्य राजनैतिक दलहरुले मध्यवर्ती चुनावमा सहभागिताको आन्तरिक तयारी गरिरहँदा रास्वपाले सो निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार