

माडी, चितवन । रातको समयमा चितवन राष्ट्रि निकुञ्जको बाटोबाट यात्रा गर्ने चालक र यात्रीले ‘जोखिमको जवाफदेही आफैले लिनुपर्ने व्यहोराको फारम भर्नुपर्ने नयाँ नियम लागु भएको’प्रति नेकपा (माओवादी केन्द्र) माडी नगरले ध्यानाकर्षण भएको भन्दै बिरोध गरेको छ ।
बिहीबार एक वक्तव्य प्रकाशित गर्दै माओवादी केन्द्र माडीले रातको समयमा निकुञ्जबाट यात्रा गर्दा ‘आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्ने व्यहोराको फारम भर्न लगाई नागरिकहरुको सुरक्षाको जिम्मेवारीबाट राज्य पन्छिने प्रयास गरेको’ भन्दै बिरोध जनाएको हो । यसप्रकारको ‘गैरजिम्मेवार निर्णय तत्कालै सच्याउन’ सो पार्टीले माग गरेको हो ।

विज्ञप्तिमा माडी नगर क्षेत्रमा दैनिक उपभोग्य वस्तुहरू : जस्तै कृषि उपज, दूध, तरकारी, मासु, कुखुरा, अण्डाजस्ता सामग्री चौबीसै घण्टा ओसारपसार गर्न सहज तथा सुरक्षित व्यवस्था मिलाउन माग गरिएको छ । निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला भएको पहिलो रातमै निकुञ्ज रक्षक सेनाले दर्जनौं सवारी साधन रातभर रोकेर हैरानी दिएको खबर सार्वजनिक भएसंगै निकुञ्जको सो कार्यको बिरोध भइरहेको छ ।
