चितवन खबर पोष्ट

एसईई २०८० को तुलनामा २०८१ मा माडी क्षेत्रका विद्यालयहरूले गरे उल्लेखनीय शैक्षिक सुधार

माडी, चितवन । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै माडी क्षेत्रका विद्यालयहरूले उल्लेखनीय शैक्षिक सुधार देखाएका छन् ।

विशेषतः २०८० सालमा २८.७८ प्रतिशत पासको नतीजा ल्याएको जनजीवन माध्यमिक विद्यालयले ४९ प्रतिशतभन्दा बढी सुधार ल्याउँदै ७८ दशमलव ४३ प्रतिशतमा उक्लिएको छ ।

यस्तै, अघिल्लो बर्षको परीक्षामा सबैभन्दा कम १३.७९ प्रतिशत उत्तीर्ण गराएको सोमेश्वर माध्यमिक विद्यालयले ३१ प्रतिशतसम्म बृद्धि गर्दै ४५.२१ प्रतिशत पास गराएको छ । दुबै विद्यालयको यो नतीजा निःसन्देह क्रमिक शैक्षिक सुधारको संकेत हो ।

यसबाहेक, २०८० सालमा ४२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको जनकल्याण माध्यमिक विद्यालयले यसबर्ष ५० प्रतिशत भन्दा बढी प्रगति गर्दै सर्बाधिक ९३ दशमलव १८ प्रतिशत उत्तीर्ण दर कायम गरेको छ ।

यस्तै, विद्याज्योति र दिवाकर मेमोरियल विद्यालयहरूले पनि करिब २४ प्रतिशतसम्म सुधार देखाएका छन् । माडी माध्यमिक विद्यालयको नतिजामा करीब ११ प्रतिशत र खैरहनी मा.वि.को नतीजामा ३ प्रतिशतको सामान्य सुधार देखिएको छ ।

तर, सबै विद्यालयको अवस्था उस्तै भने छैन । सगरमाथा माध्यमिक विद्यालय र कृष्णनगर माध्यमिक विद्यालयको नतिजामा उल्टो गिरावट आएको देखिन्छ । सगरमाथाको नतिजा ४० प्रतिशतबाट घटेर १७ दशमलव ३९ प्रतिशतमा झरेको छ भने कृष्णनगरको नतिजा २२ दशमलव ७२ प्रतिशतबाट घटेर १५ दशमलव १५ प्रतिशतमा झरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार