

माडी, चितवन । समृद्धिका लागि युवा अभियान माडीले चितवन राष्ट्रिय निकुञ्जभित्र चौबिसै घण्टा राज्यको सुरक्षामा सहज यातायात सुनिश्चित गर्न माग गरेको छ ।
अभियानको बैठकले बनकट्टा कसरा सडक खण्ड रातीमा खुला राख्ने सन्दर्भमा निकुञ्जको पत्रमा त्रुटि रहेको औंल्याउँदै त्यसलाई शंसोधन गर्न माग गरेको हो । यसका साथै माछा, कुखुरा, दूध, अण्डा, मौरी, तरकारी जस्ता तत्कालै बिग्रिने प्रकृतिका अत्यावश्यक कृषि उपजहरूको छिटो आवतजावतका लागि विशेष व्यवस्था गर्न पनि अभियानले माग गरेको छ ।

अभियन्ता रामचन्द्र लम्सालको अध्यक्षतामा बसेको बैठकले सो मागसंगै हालको अवस्थामै मध्यवर्ती निर्वाचन सम्पन्न नगराउन तथा निर्वाचन प्रक्रियामा सहभागी नहुन सम्पूर्ण राजनैतिक दल, बुद्धिजीवी, माडीबासी र जनसमुदायलाई आह्वान गर्ने समेत निर्णय गरेको छ । यसैगरी, अभियानले सर्वपक्षीय छलफल आयोजना गरी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न माडी नगरपालिकालाई अनुरोध समेत गरेको छ ।

अभियानको बैठकमा भरतपुर महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष दीपक दवाडीको समेत सहभागिता रहेको थियो । वडाध्यक्ष दवाडीले वन मन्त्रालयसँग आवश्यक नीतिगत निर्णयहरूमा सहजीकरण र पहल गर्न आफ्नो भूमिका र प्रतिबद्धता रहने प्रतिबद्धता व्यक्त गर्नुभएको अभियानले सार्वजनिक गरेको छ ।