

माडी, चितवन । बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले एसईई परीक्षामा माडीकै उत्कृष्ट तथा चितवन जिल्लाकै चौथो स्थानको नतीजा ल्याएको जनकल्याण माध्यमिक विद्यालय सहित सो विद्यालयबाट माडी प्रथम र दोश्रो हुन सफल विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।
प्रदेशसभा अन्तरगत शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति समेत रहनुभएका प्रदेश सांसद ढकालले आइतबार विद्यालय परिसर कल्याणपुरमा एक कार्यक्रमबिच सो सामुदायिक शैक्षिक संस्था र त्यहाँबाट परीक्षामा सहभागी रहेका विद्यार्थीद्वय आदर्श गौतम र सेफ्रन सुवेदीलाई सम्मान प्रदान गर्नुभएको हो ।

जनकल्याण मा.वि.ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३.६-४ जीपीए ल्याउने २१ जनासहित ३.२-३.६ जीपीए ल्याउने २४, ३.२-२.८ जिपिए ल्याउने २८ र २.८-२.४ जीपीए ल्याउने ९ जना विद्यार्थीलाई उत्तीर्ण गराई माडी क्षेत्रकै उत्कृष्ट तथा चितवन जिल्लामै सामुदायिक विद्यालयतर्फ चौथो स्थानको नतीजा ल्याएको हो ।

सोही विद्यालयबाट ३.९६ जीपीएसहित गौतम माडी प्रथम र ३.९५ जीपीएसहित सुवेदी माडी दोश्रो हुन सफल हुनुभएको थियो । त्यसैगरी दिवाकर स्मृति विद्यालयबाट ३.९६ जीपीएसहित नै माडी प्रथम हुन सफल अर्का विद्यार्थी सुदिन तिवारी र ३.९५ जीपीएसहित माडी दोश्रो एवं छात्रातर्फ प्रथम हुन सफल साक्षी यादवलाई अर्को दिन सम्मान गर्ने कार्यक्रम रहेको प्रदेश सांसद ढकालले बताउनुभयो ।