

माडी, चितवन । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा मनाइँदै आएको १५ असारको अवसर पारी माडीमा धान रोपाईं गर्दै धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
माडी नगरपालिका र ‘खाद्यान्नका लागि कृषि अभियान’को संयुक्त आयोजनामा माडी–३, बघौंडास्थित धानखेतमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन भएको हो । खेतीपातीबारे चासो बढाउने र विविध कृषि संस्कृति र कृषि पेशाको सम्मानका लागि उक्त कार्यक्रम आयोजना गरिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभयो ।

“धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता“ भन्ने नारासहित सञ्चालित सो उत्सवमा माडी नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख एवं कृषि क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिका साथै स्थानीय कृषकहरु सहभागी रहेका थिए ।

सो रोपाइँ उत्सवमा माडी नगर प्रमुख ताराकुमारी काजी महतोले धान रोप्नुभएको थियो । नेपालमा हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । उक्त दिन किसानहरू खेतमा रोपाइँ गर्दै हिलो खेल्ने, दही च्युरा खानेजस्ता परम्परागत गतिविधिमा संलग्न हुने गर्छन् ।