माडी, चितवन । माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले उत्कृष्ट विद्यालयका रुपमा सो विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.लाई कदरपत्र प्रदान गर्नुभयो ।
गुणस्तर प्रमाणचिन्ह प्राप्त सो विद्यालयले हालैका माध्यमिक शिक्षा र आधारभूत कक्षा परीक्षामा माडीमै उत्कृष्ट नतीजा हासिल गरेको थियो । कक्षा १२ सम्म सञ्चालनमा रहेको सो विद्यालयले आफूलाई डिजिटल स्कुलका रुपमा समेत चिनाउँदै शिक्षणमा प्रविधिको प्रयोगमा जोड दिँदै आएको छ ।
यसैबिच, नगरसभाकै अवसर पारी गत शैक्षिक बर्ष २०८१ मा आधारभूत तह – कक्षा ८)को परीक्षामा माडी प्रथम हुन सफल छात्रा प्रमिशा पौडेल (३.९८ जिपिए-जनकल्याण मा.वि.) र छात्र प्रेस्टिज चौधरी (३.७३ जिपिए-दिवाकर स्मृति मा.वि.) लाई समेत नगद सहित सम्मान गरिएको छ ।


यसबाहेक माध्यमिक शिक्षा (एस.इ.ई.) परीक्षामा माडी प्रथम हुन सफल छात्रद्वय आदर्श गौतम (३.९६ जिपिए-जनकल्याण मा.वि.) र सुदिन तिवारी (३.९६ जिपिए-दिवाकर स्मृति मा.वि.) तथा माडी प्रथम हुन सफल छात्रा साक्षी यादव (३.९५ जिपिए-दिवाकर स्मृति मा.वि.) लाई समेत नगद सहित सम्मान गरिएको हो ।



