२५ कार्तिक, माडी । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार माडीमा मोटरसाइकल र्याली निकालिएको छ । माडी–९, बगहीँस्थित रीउ नदीको पुलबाट सुरुवात भएको र्याली माडी–१, बरुवा बजार पुगी बसन्तपुर बजार फर्किएर कोणसभामा परिणत भएको एमाले चितवन जिल्ला सदस्य श्रीप्रसाद दवाडीले जनाउनुभयो । र्यालीमा एमालेका जिल्ला, नगर र स्थानीयस्तरका नेता कार्यकर्ता र समर्थहरुको सभागिता रहेको थियो ।
मोटरसाइकल -याली पछि कोणसु नेकपा एमालेका केन्द्रीय सदस्य यम बहादुर परियार इन्द्रजितले ‘२०७४ सालको प्रतिनिधिसभा चुनाबमा माओवादी केन्द्रको हैसियत के थियो हामीलाई थाहा छ’ भन्दै कटाक्ष गर्नुभएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाबमा अरु ४–५ वटा पार्टी एकातिर भएपनि एमालेले सबैभन्दा धेरै समानुपातिक मत ल्याएको’ औंल्याउँदै नेता इन्द्रजितले ‘नाममात्रका १० वटा कम्युनिष्ट पार्टी मिल्दैमा धर्ती नफाट्ने’ टिप्पणी गर्नुभयो ।

‘प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरेपनि फागुन २१ गते चुनाब भए एमाले सानदार रुपमा चुनाबमा भाग लिने’ उहाँले बताउनुभयो । ‘बहुदलिय जनवादको बिचार बोकेका एमालेका नेता कार्यकर्ताहरु कसैले गलाउन खोज्दैमा नगल्ने’ उहाँको भनाई थियो ।
त्यस्तै, कोणसभामा बोल्दै नेकपा एमाले चितवनका उपाध्यक्ष श्याम कुमार बिष्टले ‘हाल देशमा प्रतिगामी षड्यन्त्र भइरहेको’ टिप्पणी गर्दै ‘गैरकानुनी रूपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने’ जिकिर गर्नुभएको छ।
बिष्टले ‘गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, साथै तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गर्नुपर्ने’ धारणा राख्नुभयो। ‘यही मागसहित एमाले अहिले जनताबीच पुगेको’ उल्लेख गर्दै उहाँले ‘घटनाका दोषीहरूलाई हालको सरकारले कारबाही गर्नेमा शंका’ व्यक्त गर्नुभयो। आफूमाथि लागेको आरोपबारे छानबिन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनमार्फत खुलेर चुनौती दिनुभएको समेत उहाँको भनाइ थियो।
एमालेले देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गर्ने क्रममा सो र्याली प्रदर्शन गरेको हो । ‘संसद् विघटनलाई प्रतिगामी षडयन्त्र’ भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।

