०२ पाैष, माडी । माडी नगरपालिकाको चालू आ.व.को प्रथम चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी रहँदै माडीबासी नागरिक एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले खुलेर प्रश्न गरेका छन् ।
कार्यक्रममा प्रश्न गर्दै माडी-८ निवासी प्रेम सुनारले ‘पार्टीबाट निर्वाचित भएपनि जनप्रतिनिधिहरुले पक्ष विपक्ष नगरी काम गर्नुपर्ने’ सुझाव दिनुभयो । त्यस्तै, माडी-८ कै रामचन्द्र शाहीले ‘नगरको नारामा अंग्रेजी शव्दावली (इको) राखिएकोमा त्यसलाई नेपालीकरण गर्नुपर्ने’ तथा ‘कृषि फर्म दर्ता र नविकरणमा छुट हुनुपर्ने’ सुझाव दिनुभयो ।

त्यस्तै, माडी-८ कै सुर्यबहादुर नेपालीले ‘बिपद्को घटनामा नगरपालिकाबाट केहि नपाएको’ गुनासो गर्नुभयो । यसबाहेक माडी-७ निवासी फणिन्द्र दवाडीले ‘कृषिमा मल बीउ समयमा नपाएको र कृषकहरुलाई कर उच्च रहेको’ गुनासो गर्नुभयो । त्यसैगरी माडी-८ निवासी तिलु पुरीले ‘वडा कार्यालय नजिकको १६० मिटर बाटो कालोपत्रे कहिले हुने’ भनी ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी पत्रकार समेत रहेका माडी-९ निवासी शंकर गिरीले ‘बघौंडा अस्पतालमा औषधी लिन पुगेका बुबाआमाले निकै कुर्नुपरेको’ र ‘बैकुण्ठ धाममा पार्किङको जिम्मा नगरपालिकाले लिँदा पार्किङ शुल्क घटेको’ औंल्याउनुभयो । यस्तै, उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल आचार्यले ‘बनकट्टाको घाट र स्कुलहरुमा गई अनुगमन गर्न जनप्रतिनिधिहरुलाई सुझाव’ दिनुभयो ।
यस्तै, सशस्त्र प्रहरी बल प्रस्तावित छरछरे गुल्मका डि.ए.पी. दिपकराज गुरुङले ‘सीमाको पिल्लर जाने बाटो सफाई गर्न’ र ‘बोर्डर पिल्लर जाने ठाउँमा संकेत चिन्ह राखिदिन’ अनुरोध गर्नुभयो । जनस्तर र संघसंस्थाबाट उठेका सुझाव र सवालहरूको विषयमा माडी नगर प्रमुख तारा कुमारी काजी महतो, नगर उप-प्रमुख खेमप्रसाद महतो र प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषालले उत्तरित गर्नु भएको थियो ।

