चितवन खबर पोष्ट

आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष बोकेर अहिले पनि लडिरहेको रवि लामिछानेको टिप्पणी

०५ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष बोकेर अहिले पनि लडिरहेको टिप्पणी गर्नुभएको छ ।

भैरहवा कारागारबाट रिहा भएको भोलिपल्ट आफ्‌नो निर्वाचन क्षेत्र समेत रहेको चितवनको भरतपुरस्थित चौबिसकोठीमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफूमाथि अन्याय भएको दोहोर्‍याउँदै चितवनबासीले अन्यायविरुद्ध देखाएको साथ केवल आफ्ना लागि नभई देशकै लागि भएको उहाँको भनाई थियो । पुराना पुस्ताका नेताहरूप्रति संकेत गर्दै उनीहरूले सिङ्गो देशलाई दुख दिएको र त्यसको अगाडि आफूले भोगेको पीडा केही नभएको उहाँले बताउनुभयो ।

जेनजी पुस्ताले गरेको आन्दोलनको प्रशंसा गर्दै लामिछानेले सहिदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै उहाँले डर र हिचकिचाहट त्याग्न आग्रह गर्नुभयो । ‘सुशासनको डन्डा चलाउनुस्, निष्पक्ष चुनाव गराउनुस्,’ उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया