०६ पाैष, माडी । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत पूर्वी माडीको वडा नं. ९ स्थित घाँघरखोलादेखि कृष्णनगर (टम्टा) बजारसम्म कालोपत्रे अस्फाल्ट राख्ने कार्य अगाडि बढेको छ ।
कालोपत्रेको ठेकदार कम्पनी बज्रगुरु कन्स्ट्रक्सनले बिहीबार (आज) घाँघर पुल छेउबाट अस्फाल्ट राख्न सुरु गरेको हो । गणेशकुञ्ज चोकसम्म अस्फाल्टको काम सकिने र त्यसपछि पौष १५ सम्ममा कृष्णनगर स्कुलसम्म कालोपत्रे कार्य सक्ने योजना रहेको कन्स्ट्रक्सनका प्रतिनिधि तुलसी घिमिरेले बताउनुभयो ।

साविकको कालोपत्रे जोतिएको करीब पाँच बर्षपछि सो सडकखण्डमा नयाँ कालोपत्रे गरिएको हो । सोही सडक अन्तरगत माडी-८ मा रहेको जीवनपुर-खरकट्टा खण्डमा हालै कालोपत्रे करीब सकिएको छ । त्यहाँ बिजुलीका चारवटा पोलहरु सार्न बाँकी रहेकाले आंशिक काम बाँकी राख्दै मुलभूत काम पुरा भएको देखिन्छ ।

देबेन्द्रपुरको सीमामा रहेको परुई खोलादेखि बगहीसम्म करीब ८.१५७ किलोमिटर लम्बाई तथा ७ मिटर चौडाईको सो दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको ३५ करोड लागतमा निर्माण भइरहेको हो ।

