चितवन खबर पोष्ट

‘नयाँ राजनीतिक दलहरूलाई श्रम संस्कृति पार्टीमा स्वागत’: माडीमा हर्क साम्पाङ (भिडियो सहित)

०६ पाैष, माडी । देशव्यापी पार्टी विस्तारका क्रममा आइतबार माडी आइपुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले निर्धारित समयमै चुनाव हुनुपर्ने बताएका छन्।

स्वदेश एफ.एम.मा सडक अन्तरवार्ता दिँदै अध्यक्ष साम्पाङले नयाँ राजनीतिक दलहरू मिलेर चुनावमा जाने विषयमा पार्टी खुला रहेको उल्लेख गरे। “नयाँ राजनीतिक दलहरूलाई श्रम संस्कृति पार्टीमा स्वागत छ,” उहाँले भन्नुभयो, “तर पुरानो राजनीतिक संस्कार छोडेर आउनुपर्छ।”

उहाँले पदका लागि नभई परिवर्तनका लागि आउनेहरूलाई पार्टीले स्वागत गर्ने स्पष्ट पार्नुभयो। “काम गर्न नलजाउने होइन, देशको भविष्यका लागि आउने सबै ३ करोड नेपालीलाई पार्टीमा स्वागत गरिन्छ,” उहाँको भनाइ थियो।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयरसमेत रहनुभएका साम्पाङले संसद्को उम्मेदवारी घोषणा गरेलगत्तै मेयर पद छोड्ने बताउनुभयो। एकैजनाले दुईवटा मोटरसाइकल एकैपटक कुदाउन नसक्ने उदाहरण दिँदै उहाँले धरानमा उपनिर्वाचन नहुने आँकलनसमेत गर्नुभयो।

पार्टीका उपाध्यक्षद्वयलाई गरिएको कारबाहीबारे उठेको प्रश्नमा अध्यक्ष साम्पाङले एक जनालाई राज्यको अनुसन्धानमा सघाउन सहजीकरणका लागि र अर्कोलाई पार्टीको आचारसंहिता अनुसार सच्चिनका लागि कारबाही गरिएको जानकारी दिनुभयो।

उल्लेखनीय छ, अध्यक्ष साम्पाङले प्रहरी हिरासतमा रहेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको तीन दिनपछि शनिबार अर्का उपाध्यक्ष डा. मित्र परियारलाई अनुशासनको कारबाही गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया