देश-प्रदेश खबर पोष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच एकता गर्ने सहमति

१३ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच एकता गर्ने विषयमा सहमति भएको छ। सम्झौतापत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गर्नुभएको छ।

सहमतिअनुसार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नुहुनेछ भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्ने सहमति भएको छ।

सम्झौतामा एकतापछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रंगको घण्टीको आकृति रहने, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति गरिएको छ।

भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले गरेको आन्दोलनप्रति अपनत्व जनाउँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको उल्लेख छ।

त्यस्तै, पार्टीको संगठनात्मक संरचनालाई सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ। यस सम्झौताअनुसार पार्टीसम्बन्धी आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमतिमा समेटिएको छ।

तपाईको प्रतिक्रिया